सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा एउटै कर्मचारीलाई ५९ लाख भुक्तानी, महालेखाले औँल्यायो अनियमितता

२०८३ साउन १८, ०३:३४ नारायण अवस्थी

धनगढीः महालेखा परीक्षकको प्रतिवेदन-२०८३ ले बैतडीको पुर्चौडी नगरपालिकाले बैंकमार्फत भुक्तानी गर्नुपर्ने खर्चसमेत कर्मचारीलाई नगद भुक्तानी गरेको औँल्याएको छ।

नेपाल सरकार अर्थ मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनअनुसार कारोबारको भुक्तानी अनिवार्य रूपमा बैंकमार्फत गर्नुपर्ने व्यवस्था भए पनि नगरपालिकाले विभिन्न खर्चमा कर्मचारीलाई नगद भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार नगरपालिकाले सहायक पाँचौँ अनिलबहादुर बोहरालाई मात्रै ५९ लाख ३८ हजार ५२३ रुपैयाँ नगद भुक्तानी गरेको देखिएको छ। उक्त रकम खाना, खाजा, इन्धन, मर्मत तथा गाडी भाडालगायतका प्रयोजनमा खर्च गरिएको उल्लेख छ।

त्यस्तै, अन्य कर्मचारीलाई पनि औषधी खरिद, कार्यालय सामान, खाना–खाजा, गाडी भाडा, इन्धन तथा मर्मतका नाममा नगद भुक्तानी गरिएको विवरण प्रतिवेदनमा समेटिएको छ।

प्रतिवेदनमा सवारी चालक जगदिश जोशीलाई इन्धन र मर्मत शिर्षकमा ६ लाख ३ हजार ९०६ रुपैयाँ, सूचना प्रविधि अधिकृत प्रविन धानुकलाई खाना, खाजा र गाडी भाडा शिर्षकमा एक लाख २० हजार ८ सय रुपैयाँ, उजुरी प्रशासक चक्रबहादुर ढुङ्गाललाई कार्यालय सामान शिर्षकमा ९० हजार चार सय रुपैयाँ, नाप्रसे प्राविधिक लोकेन्द्रबहादुर धामीलाई औषधी खरिद शिर्षकमा ७२ हजार तथा पाँचौ मिनाकुमारी जोशीलाई खाना र खाजा शिर्षकमा ५६ हजार ६ सय रुपैयाँ सिधै भुक्तानी गरिएको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ।

महालेखा परीक्षकले नगद शोधभर्ना दिँदा सम्बन्धित व्यक्तिले वास्तविक रूपमा खर्च गरेको हो वा होइन भन्ने सुनिश्चित हुन नसक्ने तथा वित्तीय पारदर्शिता समेत नदेखिने भन्दै सार्वजनिक खर्चको भुक्तानी सम्बन्धित व्यक्ति, फर्म वा आपूर्तिकर्ताको बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस