सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकाले सञ्चालन गर्‍याे १५ शय्याको अस्पताल

२०८३ साउन २०, ०४:५८ जयन्त सिंह भाट

धनगढीः कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पतालको उद्घाटन गरेका हुन्। 

सङ्घीय सरकारको लगानीमा निर्माण गरिएको उक्त अस्पताल स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको हो। अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले तोकिएको संरचना निर्माण सम्पन्न गरी गत असारमा गाउँपालिकालाई अस्पताल हस्तान्तरण गरेको थियो।

अस्पताल निर्माणमा कुल १८ करोड ५२ लाख रुपैयाँ लागत लागेको छ। सङ्घीय सरकारको स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुसार कैलारीमा पनि १५ शय्याको अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए। 

अस्पताल सञ्चालनमा आएपछि कैलारी गाउँपालिकाको विशेषगरी दक्षिणी क्षेत्रका नागरिकले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। यसअघि गाउँपालिकामा पर्याप्त स्वास्थ्य उपचारको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत स्थानीयवासी उपचारका लागि धनगढी पुग्ने गरेका थिए। कतिपय नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रसम्म समेत जाने गरेका थिए।

स्थानीयस्तरमै १५ शय्याको अस्पताल सञ्चालनमा आएपछि सामान्यदेखि आवश्यक स्वास्थ्य उपचारसम्म गाउँमै उपलब्ध हुने र उपचारका लागि धनगढी तथा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। अस्पतालले कैलारीका नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ।

अस्पताल सञ्चालनसँगै स्थानीय नागरिकले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने भएकाले समय र उपचार खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ। साथै, कैलारीका नागरिकका लागि स्वास्थ्य उपचारको पहुँच थप प्रभावकारी बनाउन अस्पतालमा आवश्यक स्वास्थ्य जनशक्ति तथा सेवा विस्तार गर्दै लैजाने अध्यक्ष चाैधरीले बताएका छन्। 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस