सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौरपाटी गाउँपालिकामा १३ करार कर्मचारीको म्याद थपिएन, हाजिर नगर्न निर्देशन

२०८३ साउन २१, ०३:५६ खबर संवाददाता

अछाम: अछामको चौरपाटी गाउँपालिकाले विभिन्न वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत १३ जना करार कर्मचारीको सेवा अवधि (म्याद) थप नगर्ने निर्णय गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलद्वारा जारी सूचना अनुसार करार कर्मचारीहरूको सेवा अवधि २०८३ असार मसान्तसम्म मात्र रहेको थियो। गाउँ कार्यपालिकाको असार ३२ गते बसेको बैठकले साउन १ गतेदेखि करार म्याद थप्ने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनको क्रममा केही कर्मचारीले हाजिर गरेको जानकारी प्राप्त भएपछि कार्यपालिकाले पुनः उनीहरूको म्याद नथप्ने निर्णय गरेको जनाएको छ।

गाउँपालिकाले म्याद नथप्ने निर्णय भएका कर्मचारीलाई अब उपरान्त हाजिर नगर्न तथा नगराउन सम्बन्धित वडा कार्यालय र स्वास्थ्य संस्थालाई निर्देशन समेत दिएको छ।

म्याद नथपिएका कर्मचारीहरूमा प्रशासन सहायक, कृषि प्राविधिक, पशु सेवा प्राविधिक तथा ल्याब असिस्टेन्ट पदमा कार्यरत कर्मचारीहरू रहेका छन्। उनीहरू गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा सोकट, पायल, दुनी र मार्कु स्वास्थ्य चौकीमा कार्यरत थिए।

गाउँपालिकाले सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य शाखालाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस