भजनी नगरपालिकाको साथमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२
धनगढी: सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र परम्परालाई संरक्षण गर्दै व्यङ्ग्य–हास्यमार्फत सामाजिक सचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिर्जना–२’ लाई भजनी नगरपालिकाले साथ दिएको छ। बैजनाथ सञ्चार प्रालिको आयोजनामा हुने कार्यक्रम आगामी भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हलमा भव्य रूपमा सम्पन्न हुने भएको हो।
आयोजकका अनुसार पहिलो संस्करणले दर्शकबाट पाएको उत्साहजनक साथ र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्षको कार्यक्रम अझ विस्तृत, व्यवस्थित र आकर्षक बनाइएको छ। “संस्कृतिको संरक्षण, व्यङ्ग्यमार्फत सचेतना र स्वस्थ समाज निर्माण” भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमको मौलिक पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, हास्य–व्यङ्ग्य र समसामयिक
विषयवस्तु समेटिने गाइजात्राका संयोजक सरस्वती खड्का भट्टले बताइन् ।
कार्यक्रम केवल मनोरञ्जनमा सीमित रहने छैन। समाजमा देखिएका भ्रष्टाचार, बेथिति, विकृति, विसंगति, लैङ्गिक हिंसा, बालअधिकार, युवा पलायन, सामाजिक उत्तरदायित्व तथा समसामयिक राष्ट्रिय मुद्दालाई
व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै जनचेतना अभिवृद्धि गरिने आयोजकको भनाइ छ।
गाईजात्रा सिर्जना–२ मा सुदूरपश्चिमका चर्चित कलाकारसँगै राष्ट्रियस्तरका लोकप्रिय हास्यकलाकारहरूको विशेष प्रस्तुति रहने गाइजात्राका आर्थिक संयोजक शुभेष पाठकले जानकारी दिए ।
देउडा, लोकगीत, लोकनृत्य तथा सुदूरपश्चिमका मौलिक सांस्कृतिक झाँकीले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्। स्थानीय कला र संस्कृतिलाई राष्ट्रिय मञ्चमा पुर्याउने प्रयासस्वरूप विभिन्न मौलिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ।
नयाँ पुस्तालाई आफ्नै भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्दै यसको संरक्षणमा प्रेरित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
भजनी नगरपालिकाको सहयोगसँगै आयोजना हुन लागेको यस कार्यक्रमले सुदूरपश्चिमको मौलिक संस्कृतिको प्रवर्द्धन, कलाकारहरूको प्रतिभा प्रदर्शन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने साझा अभियानका रूपमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ। आयोजकले भदौ १७ गते हुने कार्यक्रममा संस्कृति, कला र हास्यप्रेमी सबैलाई सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।साथै कार्यक्रमलाई थप सहयोग गर्न हुन आयोजक टिमले अनुरोध गरेको छ ।