बन्द र घाटामा रहेका राष्ट्रिय उद्योगमा सुधारको संकेत
काठमाडौँ: वर्षौंदेखि बन्द, घाटा र व्यवस्थापकीय समस्याले थलिएका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेका छन्। सरकारले राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन र बिक्री बढाउने तथा संस्थानलाई प्रतिस्पर्धी बनाउने प्रयास थालेसँगै केही संस्थानमा सकारात्मक परिणाम देखिन थालेको हो।
सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन दिन सहजीकरण, समन्वय, कानुन कार्यान्वयन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। त्यसको परिणामस्वरूप नेपाल औषधी लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना विकास समितिमा सुधारका प्रयास अघि बढेका छन्। प्रधानमन्त्री बालेन शाहले इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको 'टिमवर्क' का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको बताएका छन्।
नेपाल औषधी लिमिटेडको बिक्री र नाफामा सुधार
वर्षौंदेखि घाटामा रहेको नेपाल औषधी लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको जनाएको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधी बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको प्रधानमन्त्री शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।।
चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधी बिक्री गर्ने लक्ष्य लिमिटेडले लिएको छ। सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा आगामी तीन वर्षभित्र लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधी उत्पादन गर्ने लक्ष्य राखिएको छ।
सोही लक्ष्यअनुसार यस वर्ष ३७ प्रकारका औषधी उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधीको उत्पादन तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। हाल लिमिटेडले ११ प्रकारका औषधी उत्पादन गर्दै आएको प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्।
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन
वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। उद्योगका तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको जनाइएको छ।
परीक्षण उत्पादनको चरणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी गरेको उल्लेख गरिएको छ।
नेपाल वायुसेवा निगमको आम्दानी बढ्यो
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।
यस अवधिमा निगमको जहाजको सीट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी हो।
यसै अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
डिडिसीमा किसानको बक्यौता भुक्तानी चक्र छोटियो
दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको रोकिएको दूधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिएको जनाएको छ। यसअघि आठ महिनासम्म रहेको भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको छ।
डिडिसीका अनुसार ७२ करोड रुपैयाँसम्म पुगेको भुक्तानी दायित्वलाई घटाएर करिब ३५ करोड रुपैयाँमा ल्याइएको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकमसमेत थप गरिएको छ।
सुधारका प्रयास सुरु भएपछि दैनिक दूध तथा दुग्धजन्य पदार्थको बिक्री ३५ प्रतिशतले बढेको र दैनिक औसत राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको जनाइएको छ।
कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गर्दा वार्षिक करिब ३ करोड रुपैयाँ बचत भएको बताइएको छ।
डिडिसीले घ्यू खाडी मुलुक, बटर चीन र छुर्पी निर्यात गर्ने तयारीसमेत गरिरहेको जनाएको छ। यस्तै, नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको छ।
सिंहदरबार वैद्यखानामा औषधी उत्पादन चार गुणाले बढ्यो
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधी उत्पादन तथा बजारीकरण गरेको जनाएको छ।
गत आर्थिक वर्षमा वैद्यखानाको औषधी कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब चार गुणा बढी हो।
वैद्यखाना हाल निःशुल्क वितरण हुने ३५ प्रकारका आयुर्वेदिक औषधी उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको जनाइएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधी उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमा १५० प्रकारका औषधी उत्पादन गर्ने लक्ष्य लिइएको छ।
चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधी उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ।
सरकारले रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि इमान्दार व्यवस्थापन, कानुनको प्रभावकारी कार्यान्वयन, उत्पादन वृद्धि र संस्थागत सुधारमार्फत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेको छ।
उत्पादन वृद्धि र राष्ट्रिय उद्योगको पुनरुत्थानमार्फत मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा सबै पक्षको रचनात्मक साथ र सहयोग आवश्यक रहेको सरकारको भनाइ छ।