कैलालीमा भन्सार छलेर ल्याइएका सामान बरामद
धनगढीः कैलालीमा भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको छ।
कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले सोमवार मोबाइलका पार्टपुर्जा, चिनी र डोरीलगायत उक्त परिमाणका सामान बेवारिसे अवस्थामा बरामद गरिएको जनाएको छ।
प्रहरीले पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रणका लागि निगरानी तथा गस्ती बढाउँदै आएको जनाएको छ। त्यसक्रममा आज सामान बरामद गरिएको र आवश्यक कारबाहीका लागि ती सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको कार्यालयका सहप्रवक्ता, प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।