सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

२०८३ साउन २८, १०:११ खबर संवाददाता

काठमाडौँः सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्ने क्रममा डिकी, फर्स्ट बटन तथा कालो झोलाभित्र लुकाइराखेको अवस्थामा उक्त रकम बरामद गरेको हो।

बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५०० रुपैयाँ दरका ३ हजार १०८ थान, १०० रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–१२ का अन्दाजी ५७ वर्षीय जगन्नाथ महतो कोईरी घाइते भएका छन्। उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल, मलंगवा लगिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाका क्रममा प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको थियो। उनीहरू उपचारपछि डिस्चार्ज भएका छन्।

प्रहरीले बरामद रकम, स्कुटर र जगन्नाथ महतो कोईरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस