सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

२०८३ साउन २८, १०:२९ खबर संवाददाता

रोल्पाः रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बुधबार राति करिब ८ः४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब छ वटा घर तथा गोठ पुरेको हो। घटनाबारे राति ९ः३० बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

पहिरोमा मानिस तथा चौपायासमेत पुरिएको खुलेपछि स्थानीयको सहयोगमा राति ११ः५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरलाई मृत अवस्थामा फेला पारिएको छ।

थप उद्धार तथा खोजीका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। बिहान ४ः३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन्।

घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार पहिरोमा १० जना पुरिएको आशंका गरिएको छ। घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस