सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्कृष्ट घोषित भएका प्रहरी युवतीसहित होटेलबाट पक्राउ

२०८३ भदौ १, ०१:५४ खबर संवाददाता

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले एक होटलबाट युवतीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका छन्।

स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिइएको हो। प्रहरी संगठनको मर्यादा र आफ्नो जिम्मेवारीविपरीत गतिविधि गरेको आरोप लगाउँदै स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले श्रेष्ठसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रबिन कार्कीले स्थानीयबाट सूचना प्राप्त भएपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको पुष्टि गरेका छन्। उनका अनुसार घटनामा संलग्न भनिएका श्रेष्ठसहित दुई जना प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरीका रूपमा घोषित भएका थिए।
 

कमेन्ट लोड गर्नुस