तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ: बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय प्रोग्रेस चौधरी र अर्का १६ वर्षीय बालक रहेका छन्।
साउन ३१ गते बिहान करिब ८ः३० बजे हराएकी तीन वर्षीया बालिका मंगलबार (भदौ २ गते) भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र जितपुरसिमरा बस्ने तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
घटनापछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो। थप अनुसन्धानका क्रममा नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ।
यसबारे अनुसन्धान भइरहेको छ।