सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारको लोक राउन्डमा नरेन्द्र राज र भवानी रेग्मी महागुरु

२०८३ भदौ ३, ०४:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक कला, संस्कृति, लोकसंगीत र नृत्यको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टार’ को लोक राउन्डमा वरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्र राज रेग्मी र कुशल नृत्य निर्देशक तथा मोडल भवानी रेग्मी महागुरुका रूपमा रहने भएका छन्।

लोक राउन्डलाई प्रतियोगिताको महत्वपूर्ण चरणका रूपमा लिइएको छ। यस चरणमा नरेन्द्र राज रेग्मीले सहभागीलाई देउडा तथा लोकसंगीतको मौलिकता, लय, शब्द, गायनशैली र प्रस्तुतीकरणका विषयमा मार्गदर्शन गर्नेछन्।

त्यस्तै, नृत्य निर्देशक तथा मोडल भवानी रेग्मीले सहभागीलाई लोकनृत्यका चाल, हाउभाउ, भावभङ्गिमा तथा प्रस्तुति शैलीबारे प्रशिक्षण र मार्गदर्शन गर्नेछिन्।

सुदूरपश्चिम र कर्णालीको लोककला तथा संस्कृतिसँग लामो समयदेखि जोडिएका अनुभवी कलाकारद्वयको सहभागिताले लोक राउन्डलाई थप प्रभावकारी र ज्ञानवर्धक बनाउने आयोजकको विश्वास छ। विशेषगरी देउडा, लोकगीत तथा लोकनृत्यलाई नयाँ पुस्तासम्म पुर्‍याउन उनीहरूको भूमिका महत्वपूर्ण हुने बताइएको छ।

आकर्षक पुरस्कारले बढाउँदै प्रतिस्पर्धाको रौनक

प्रतियोगितामा उत्कृष्ट प्रतिभालाई प्रोत्साहन गर्न आकर्षक पुरस्कार तथा व्यावसायिक अवसरको व्यवस्था गरिएको छ। प्रथम हुने प्रतिभाले नगद २ लाख रुपैयाँ, ४ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो निर्माण, दुई वर्षको सम्झौता तथा थाइल्यान्ड, मलेसिया र सिंगापुर भ्रमणको अवसर प्राप्त गर्नेछन्।

द्वितीय हुने प्रतिभाले ७० हजार रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो निर्माण तथा एक वर्षको सम्झौता पाउनेछन्। तृतीय हुने प्रतिभाका लागि ३० हजार रुपैयाँ नगद, २ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो तथा ६ महिनाको सम्झौता रहेको छ।

त्यस्तै, चौथो हुने प्रतिभाले १३ हजार रुपैयाँ नगद र १ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो, जबकि पाँचौँ हुने प्रतिभाले ५ हजार रुपैयाँ नगद र ५० हजार रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो प्राप्त गर्नेछन्।

सुदूरपश्चिम तथा कर्णालीका लुकेर रहेका गायन र नृत्य प्रतिभालाई ठूलो मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय कला, संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य राखेको आयोजकले जनाएको छ।

प्रतियोगिता २०८३ भदौ ७ गते आयोजना हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस