सुदूरपश्चिममा ४२ महिनामा ४१ जना मन्त्री
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा ४० महिनामा पाँच पटक सरकार परिवर्तन हुँदा ४१ जना प्रदेश सभा सदस्यले मन्त्री हुने अवसर पाएका छन्। जसमा चार जना मुख्यमन्त्री बन्न सफल भएका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ जना मात्रै सदस्य छन्। पाँच पटक सरकार परिवर्तन हुँदा चार जना मुख्यमन्त्रीसहित ४१ जनाले मन्त्रीका रुपमा गाडीमा राष्ट्रिय झन्डाले फहराउँदै हिड्ने अवसर पाएका हुन्।
२०७९ को मंसिरमा भएको निर्वाचनबाट पुस २७ गते एमालेका राजेन्द्रसिंह रावल दोस्रो कार्यकालको पहिलो तथा सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि २०७४ मा भएको निर्वाचनबाट नेपाली कम्युनिस्ट पार्टीका त्रिलोचन भट्ट पूरै कार्यकाल अर्थात् पाँच वर्ष नै मुख्यमन्त्री भएका हुन्।
सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावल एक महिने मुख्यमन्त्री हुन्। संसदमा बहुमत पुगाउन नसक्दा उनले २०७९ माघ २६ मा राजीनामा दिनुपरेको थियो।
रावलको राजीनामापछि तेस्रो मुख्यमन्त्रीमा सत्तारोहण गरेका काँग्रेसका कमलबहादुर शाह दुई पटक मुख्यमन्त्रीको शपथ खान पाउने एक्ला व्यक्ति हुन्। पहिलोपटक २०७९ माघ २६ गते मुख्यमन्त्री भएका उनको नेतृत्वमा सरकार २०८० चैत २२ गतेसम्म रह्यो। त्यसपछि एमाले, माओवादी र समाजवादीको गठबन्धन निर्माण हुँदा चौथो मुख्यमन्त्रीको रुपमा तत्कालीन समाजवादीका दीर्घबहादुर सोडारी २०८२ बैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।
उनले एक सय दिनमै साउन १८ गते राजीनामा दिनु परेको थियो। त्यसपछि पाँचौं मुख्यमन्त्रीका रुपमा मुख्यमन्त्री कमलबहादुर शाहले २०८१ साउन २० गते नियुक्ति बुझेका हुन्। शाहले साउन २८ गते राजीनामा दिए।
नेकपाका २१ जनामा १९ मन्त्री
सुदूरपश्चिम प्रदेश सभाका ५३ जना सांसदमध्ये हाल ५१ जना मात्रै छन्। स्वतन्त्र सांसद ताराप्रसाद जोशी अहिले डडेल्धुराबाट सङ्गीय सांसद छन् भने काँग्रेसका प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
हाल कायम रहेका ५१ जना प्रदेश सभा सदस्यमध्ये सबभन्दा ठूलो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सभामुख छोडेर २१ जना सांसद छन्। जसमा दुई जना मुख्यमन्त्रीसहित १९ जना मन्त्री भएका छन्।
नेकपाबाट तीन महिने मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी भएका बेला सबैभन्दा धेरैले मन्त्री हुने अवसर पाएका थिए।
नेकपाबाट मन्त्री हुनेमा एक महिनाका लागि पहिलोपटक कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुँदा वर्तमान मुख्यमन्त्री खगराज भट्ट बिनाविभागीय मन्त्री बनेका थिए।
यस्तै, उपनेता अक्कलबहादुर रावल, ओमविक्रम भाट, कैलाश चौधरी, खुशीराम डगौरा, घनश्याम चौधरी, रमेशसिंह धामी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी, लक्ष्मी विक, माया पन्त, नरेशकुमार शाही, झपटबहादुर साउँद, टीका थापा मन्त्री बनेका थिए भने इन्दिरा गिरी र गीतादेवी माल राज्यमन्त्री बनेका हुन्।
यस्तै, प्रकाश रावल, जानकी कुँवरलाई मुख्यमन्त्री खगराज भट्टले शुक्रवार मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका छन्। यो सँगै नेकपाबाट यो पटक मन्त्री हुने अवसर नपाउनेमा पूर्व मन्त्री मानबहादुर धामी र प्रदेश सभा सदस्य शिवसिंह ओली मात्रै बाँकी रहेका छन्।
नेकपाबाट निर्वाचित भएका भीमबहादुर भण्डारी सभामुख छन् भने शिवसिंह ओली र मानबहादुर धामीले मन्त्री हुने अवसर पाएनन्। यद्यपि प्रकाश रावल र मानबहादुर धामी प्रदेश सभाको अघिल्लो कार्यकालमा मन्त्री बनेका थिए।
काँग्रेसले १३ जनालाई बनायो मन्त्री
नेकपापछि नेपाली काँग्रेसबाट अहिलेसम्म एक जना मुख्यमन्त्रीसहित १३ जनाले मन्त्री हुने अवसर पाएका छन्। काँग्रेसबाट कमलबहादुर शाह दुई पटक मुख्यमन्त्री हुँदा उनका सहकर्मी ६ जना मात्रै मन्त्री हुने अवसरबाट बञ्चित भएका छन्।
काँग्रेसका १८ जना प्रदेश सभा सदस्यमध्ये हालसम्म मन्त्री हुने अवसर नपाउने ६ जनामा दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीता चौधरी, ललिता सुनार, तुलसी देवकोटा र डम्मरी महरा परेका छन्।
काँग्रेसबाट मन्त्री हुनेमा बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा, मेघराज खड्का, शिवराज भट्ट, विक्रमसिंह धामी मानबहादुर रावल र बेलबहादुर राना मगर छन् भने राज्यमन्त्री हुनेमा प्रकाशबहादुर बम, सरस्वती खड्का, मधुदेवी भारती र जुनाकुमारी दानी छन्। यस्तै, सडक दुर्घटनामा परेर ज्यान गुमाएका बझाङका पृथ्वीबहादुर सिंह पनि मन्त्री बनेका थिए।
एमालेका ११ मध्ये ९ जना बने मन्त्री
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट राजेन्द्रसिंह रावल एक महिने मुख्यमन्त्री बन्दा ११ सांसदमध्ये दुई जना सांसदले मात्रै मन्त्री हुने अवसर पाएका छैनन्। उपसभामुख कोइलीदेवी चौधरीलाई छोड्ने हो भने नेकपा एमालेबाट धर्मराज पाठकले मात्रै मन्त्री हुने अवसर पाएका छैनन्। एमालेबाट सुरेन्द्रबहादुर पाल, हिरासिंह सार्की, बिरबहादुर थापा, सन्तोष शर्मा थापा, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी मन्त्री बने भने राज्यमन्त्री हुन निर्मलादेवी साउँद र जानकी ऐर बमले अवसर पाएका हुन्। यस्तै, सन्तोषकुमारी शर्मा थापा राजेन्द्र रावल मुख्यमन्त्री हुँदा एक महिनाका लागि बिनाविभागीय मन्त्री भएकी थिइन्।
एमालेबाट निर्वाचित कोइलीदेवी चौधरी उपसभामुख छिन् भने मन्त्री हुने अवसर नपाउनेमा धर्मराज पाठक मात्रै एक्ला सांसद हुन्।
यस्तै, राप्रपाकी खेमादेवी विष्ट पनि मन्त्री भएकी छैनन्।