स्थानीय तहका स्वास्थ्य संस्थामा निःशुल्क औषधि उपलब्ध गराउन मन्त्रालयको परिपत्र
काठमाडौँ:आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको नियमित उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको छ।
मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा पठाएको हो।
स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट वर्षभरि औषधि निःशुल्क वितरण गर्ने व्यवस्था प्रभावकारी बनाउन मन्त्रालयले संलग्न सूचीअनुसार आफ्नो जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ।
परिपत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न प्रकारका औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची पनि पठाइएको छ। सूचीमा औषधिका अतिरिक्त स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन्।
स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको पर्याप्त उपलब्धता, उचित भण्डारण र निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्ने मन्त्रालयले जनाएको छ।