सडकको पहुँचबाहिर अपिहिमालको केन्द्र खण्डेश्वरी
दार्चुलाः हिमाली जिल्ला दार्चुलाका नौ वटा स्थानीय तहमध्ये अपिहिमाल गाउँपालिकामा अझै पनि सडक पुगेको छैन । भौगोलिक दृष्टिले निकै कठिन र दुर्गम क्षेत्र भएकै कारण गाउँपालिकाको केन्द्रसम्म कच्ची सडकसमेत पुग्न नसकेको हो ।
यहाँ दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । अन्य स्थानीय तहको केन्द्र र केही वडाको केन्द्रसम्म सडक पुगेको अवस्थामा अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा भने अझैसम्म पनि सडक पुगेको छैन । पहाडी भौगोलिक विकटता, कडा चट्टान तथा सीमित स्रोतसाधनका कारण अपिहिमाल गाउँपालिकाको केन्द्र सडक सञ्जालले जोड्न कठिन भएको हो ।
सडक सञ्जालले नछोएको गाउँपालिका भए तापनि यहाँको सुन्दरता, पर्यटकीय स्थल, जडीबुटी, वेशभूषा, रहनसहन र परम्परागत खानाका परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई भने अपिसम्म पु-याइरहेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक नपुगेको भए पनि पर्यटक पदमार्ग हुँदै सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि हिमालको बेसक्याम्प आउने गरेका छन् ।
अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाका अनुसार गत आव २०८२/८३ मा आन्तरिक तथा बाह्य पर्यटक गरी ५६ जना महिला र ३७० जना पुरुष अपि हिमाल र अपिनाम्पा संरक्षण क्षेत्र घुमेका छन् ।
प्राकृतिक सौन्दर्यले भरिएको अपिहिमाल गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिए। यहाँको अपिहिमाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यभित्रसमेत परेको उनको भनाइ छ ।
सदरमुकाम खलङ्गाबाट करिब २३ कोष उत्तरपश्चिममा रहेको पालिकाको केन्द्रलाई जोड्ने सडक हाल वडा नम्बर ३ को गौँड्याखोलासम्म पुगेको अध्यक्ष ठेकरे बोहोराले बताए। गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालय र पालिका केन्द्रलाई जोड्ने सडक चालु आव २०८३/८४ मा पूरा गर्ने लक्ष्य रहेको उनले बताए। सडक अभावका कारण स्थानीयले बर्सौंदेखि यातायात, विकासनिर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्दै आएको वडा नम्बर ३ का वडाध्यक्ष गगनसिंह कार्कीले बताए।
गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म मात्रै अहिले गाडी गुड्न सक्ने सडक पुगेको छ । पालिकामा पर्यटकीय स्थल थुप्रै भएका कारण बेला बेला पर्यटक आउँदा सुगम जस्तै महसुस हुने गरेको उनले बताए।
यसअघि गत असार १ गते तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका लागि मकरीगाडदेखि खण्डेश्वरी सडक निर्माणमा तीन करोड रुपियाँ विनियोजन गरेको थियो भने मकरीगाड सडक पुल निर्माणका लागि एक करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । सो बजेट पारित नभएपछि नयाँ बजेट निर्माणको तयारी भइरहेको छ ।