भोटेकोशी बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
धनगढीः रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका ८५ जना सम्पर्कविहीन भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा चार जना सुरक्षाकर्मीसमेत छन्। जसमा तीन जना प्रहरी र एक जना सशस्त्र प्रहरी रहेका छन्।
बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेकाहरूमा सबैभन्दा धेरै कञ्चनपुरका नागरिक रहेका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५ र बाजुराका १४ जना सम्पर्कविहीन भएका छन्।
यस्तै, बैतडीका चार, डोटीका दुई र अछामका एक जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन हुनेको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।
‘जिल्ला–जिल्लाबाट विवरण संकलन भइरहेको छ,’ एसएसपी बिष्टले भने, ‘प्राप्त विवरणअनुसार अहिले ८५ जना सम्पर्कविहीन देखिएका छन्।’
प्रदेश प्रहरीले बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।