रसुवाको बाढीमा घोडाघोडीकी चुनकी डगौरा सम्पर्कविहीन
धनगढीः रसुवामा आएको भीषण बाढीपछि कैलालीको घोडाघोडी नगरपालिका–३ का चुनकी डगौरा सम्पर्कविहीन भएका छन्।
घोडाघोडी नगरपालिका–३ निवासी डगौरा रोजगारीका सिलसिलामा रसुवास्थित मैलुङ खोला हाइड्रोपावर कार्यालयमा भान्सेको रूपमा कार्यरत रहेको बताइएको छ।
रसुवाको मैलुङ क्षेत्रमा आएको बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। बाढीपछि उनको अवस्था अज्ञात रहेकाले परिवारजन चिन्तित बनेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले चुनकी डगौराको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग परिवारले आग्रह गरेको छ।
डगौरालाई चिन्नुहुने वा उनीबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिले परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिन आग्रह गरिएको छ।