सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस सुदूरपश्चिम संसदीय दलले रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग गर्ने

२०८३ भदौ १२, ०४:२२ खबर संवाददाता

धनगढीः नेपाली काँँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन्। त्यस्तै, दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम बाढी प्रभावितका लागि सहयोग गर्ने भएका छन्।

संसदीय दलका अनुसार उक्त सहयोगबाट जम्मा ३ लाख ६० हजार ८ सय ३३ रुपैयाँ संकलन हुनेछ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने जनाइएको छ।

भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संसदीय दलले उक्त निर्णय गरेको हो। प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकको साथमा उभिँदै मानवीय सहयोगलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत संसदीय दलले जनाएको छ।

कमेन्ट लोड गर्नुस