भोटेकोशी बाढी प्रभावितका लागि सुदूरपश्चिम चेम्बरद्वारा १ लाख १ हजार १ रुपैयाँ सहयोग
धनगढी: भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक रुपैयाँ सहयोग गरेको छ।
नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर अफ कमर्स, धनगढी चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको चेम्बरले जनाएको छ।
चेम्बरले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन सबै सरोकारवाला निकाय, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, बाढी प्रभावित नागरिकलाई शीघ्र सामान्य जनजीवनमा फर्काउन उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग चेम्बरले माग गरेको छ।