सुदूरपश्चिम युवा संजालले विपद् राहत कोषमा गर्यो २१ हजार सहयोग
धनगढीः सुदूरपश्चिम प्रदेश युवा संजालले विपद्को समयमा नेपाल सरकारलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
भदौ १४ गते सञ्चालमा अध्यक्ष युवराज जोशीले प्रधानमन्त्री दैवी प्रकोप कोषको आधिकारिक क्यूआरमार्फत २१ हजार रुपैयाँ सहयोग गरेका हुन्। अध्यक्ष जोशीले व्यक्तिगत रुपमा एक हजार सहयोग गरेका हुन्। विद्यार्थी जीवनमा आफ्नो दैनिक खाजा खर्चबाट रकम बचाउँदै विपद्को समयमा सरकारलाई सहयोग गरेको उनले बताएका छन्।
विपद्का कारण नागरिकहरू पीडामा रहेका बेला आफूले सक्दो सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै उनले सबैलाई आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्न अपिल गरेका छन्।
“म विद्यार्थी र सुदूरपश्चिम प्रदेश युवा संजालको अध्यक्ष भएको नाताले आफ्नो खाजा खाने पैसा बचाएर विपत्तिको यस दुःखद घडीमा नेपाल सरकारलाई थप एक हजार रुपैयाँ सहयोग गरेको छु,' उनले भने।
उनले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि सानो रकम भए पनि सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै आर्थिक अवस्था अनुसार सबैलाई सहयोगमा जुट्न आग्रह गरेका छन्।
उनको यो पहलले विद्यार्थी तथा युवाहरूलाई समेत विपद्को समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।