सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजाजका दुई नयाँ इलेक्ट्रिक स्कुटर धनगढीमा सार्वजनिक

२०८३ भदौ १६, ०४:०३ लक्ष्मण ढुङ्गाल

धनगढी: बजाज अटोले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतकका दुई नयाँ इलेक्ट्रिक स्कुटर  सि २५०१ र  सि ३५०३ धनगढीमा सार्वजनिक गरेको छ।

बजाजका दुईपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडको सहकार्यमा धनगढीको बोराडाँडीस्थित जेमिनी अटोमोबाइल्स प्रालिमा एक कार्यक्रमबीच दुवै मोडल सार्वजनिक गरिएको हो। कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाको प्रमुख आतिथ्यता रहेको थियो।

कम्पनीका अनुसार नयाँ मोडलले नेपालमा दिगो, आकर्षक र उच्च प्रदर्शनयुक्त सहरी विद्युतीय मोबिलिटीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

चेतक  सि २५०१ मा २.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। यसले एकपटकको चार्जमा एलडिसी अनुसार ११३ किलोमिटरसम्मको रेन्ज र अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीका एचओडी रामेश्वर घिमिरेले बताए। फास्ट चार्जिङमार्फत शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब २ घण्टा २५ मिनेट लाग्ने बताइएको छ।

सि २५०१ मा ब्राइट एलसिडी  डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले/पज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेजलगायत सुविधा छन्। विभिन्न आकर्षक रङमा उपलब्ध हुने यो स्कुटरको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै, चेतक सि ३५०३ मा ३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा एलडिसि  अनुसार १५९ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ।

सि ३५०३ मा डिजिटल एलसिडि डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इन्कमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ। क्लासिक( डिआरएल) हेडलाम्पसहितको डिजाइनमा रहेको यो स्कुटर इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चारकोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ। यसको मूल्य ३ लाख ३१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले चारपांग्रे विद्युतीय सवारीको बजार विस्तार भइरहे पनि दुईपांग्रे विद्युतीय सवारीको उपस्थिति तुलनात्मक रूपमा कम रहेको बताए। बढ्दो आधुनिकीकरणसँगै वातावरणमैत्री यातायातप्रति आकर्षण बढिरहेको भन्दै उनले इलेक्ट्रिक सवारी साधन प्रदेशवासीको रोजाइमा पर्ने विश्वास व्यक्त गरे। विद्युतीय सवारी भरपर्दो र झन्झटरहित माध्यम भएकाले यसको मागसमेत बढ्ने उनको भनाइ थियो।

कम्पनीका अनुसार चेतक सि २५०१ र सि ३५०३ अब नेपालभरका छनोट गरिएका बजाज डिलरमा बुकिङका लागि उपलब्ध छन्। विद्युतीय सवारी प्रयोगकर्तालाई सहज र भरपर्दो स्वामित्व अनुभव प्रदान गर्न देशभर रहेको सर्भिस नेटवर्कमार्फत निरन्तर सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस