भोटेकोशी बाढीपीडितका लागि कैलाली मोडेल माविको १ लाख ५ हजार सहयोग
धनगढी: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि धनगढी–४, उत्तरबेहडीस्थित कैलाली मोडेल माध्यमिक विद्यालयले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालय परिवारले मानवीय सेवाको भावनासहित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ। विद्यालयले बाढीबाट पीडित नागरिकलाई राहत उपलब्ध गराउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै देश–विदेशबाट प्राप्त भइरहेको सहयोगले मानवता अझै जीवित रहेको पुष्टि गरेको जनाएको छ।
विद्यालयले बाढीपीडित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीका कारण ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै विपद्को यस घडीमा सबैलाई एकजुट भएर सहयोगमा हातेमालो गर्न आह्वान गरेको छ।