सुदूर नेपाललाई विश्वसँग जोड्दै

जानकी गाउँपालिकाका ८ विद्यालयमा प्रधानाध्यापक नियुक्त, दुई बाँकी

२०८३ भदौ २१, ०८:२३ लक्ष्मण ढुङ्गाल

कैलाली — जानकी गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ। शिक्षा नियमावली तथा स्थानीय तहको शिक्षा ऐन/कार्यविधिअनुसार छनोट प्रक्रिया अघि बढाउँदै गाउँपालिकाले विभिन्न विद्यालयका लागि प्रधानाध्यापक नियुक्त गरेको हो।

जानकी गाउँपालिका वडा नं. १ दुर्गौलीस्थित सरस्वती माध्यमिक विद्यालयमा खगेन्द्र प्रसाद उपाध्याय
प्रधानाध्यापक नियुक्त भएका छन्। त्यस्तै वडा नं. ४ मुनुवास्थित जनता माध्यमिक विद्यालयमा शोम प्रसाद कठरिया प्रधानाध्यापक नियुक्त भएका छन्।

वडा नं. ५ पथरैयास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अमौरा–रूपा रेग्मी, वडा नं. ६ धर्मापुरस्थित महेन्द्र शिशु माध्यमिक विद्यालयमा डिल्ली राज विष्ट र वडा नं. ६ जगतपुरस्थित बालज्योति माध्यमिक विद्यालयमा राम भजन चौधरी प्रधानाध्यापक नियुक्त भएका छन्।

यसैगरी वडा नं. ८ खैरीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा टंक प्रसाद देवकोटा, वडा नं. ९ अमरावतीस्थित हिमालय राष्ट्रिय माध्यमिक विद्यालयमा मान सिंह चौधरी तथा वडा नं. ९ खैरीफाटास्थित अरुणोदय माध्यमिक विद्यालयमा कलम खड्का प्रधानाध्यापक नियुक्त भएका छन्।

प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रधानाध्यापक छनोट

नेपालमा सामुदायिक विद्यालयका प्रधानाध्यापकको छनोट तथा नियुक्ति शिक्षा नियमावली र सम्बन्धित स्थानीय तहको शिक्षा ऐन तथा कार्यविधिमा आधारित हुने व्यवस्था छ। विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापक छनोटमा ज्येष्ठतालाई मात्र आधार नबनाई शैक्षिक योग्यता, स्थायी सेवा अवधि, कार्यसम्पादन मूल्याङ्कन, विद्यालय विकाससम्बन्धी प्रस्ताव, प्रस्तावको प्रस्तुतीकरण तथा अन्तर्वार्तालगायतका विभिन्न आधारलाई समेटेर मूल्याङ्कन गर्ने व्यवस्था रहेको छ।

प्रधानाध्यापकका लागि उम्मेदवार सम्बन्धित तहको स्थायी शिक्षक हुनुका साथै तोकिएको शैक्षिक योग्यता र स्वीकृत शिक्षक तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ। माध्यमिक तहका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तथा आधारभूत तहका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान रहेको छ।

अझै दुई विद्यालयमा नियुक्ति हुन बाँकी

जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीका अनुसार गाउँपालिकाअन्तर्गतका अझै दुई वटा विद्यालयमा प्रधानाध्यापक नियुक्त हुन बाँकी छ ।

 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस