नागरिकता प्रभावित व्यक्तिहरूको सञ्जालद्वारा नागरिकता र जन्मदर्ताबारे विद्यार्थीलाई सचेतना
धनगढी: नागरिकता र जन्मदर्ताका विषयबारे विद्यार्थीलाई प्रारम्भिक जानकारी दिने उद्देश्यले धनगढीस्थित क्रिसेन्ट सिटी स्कुलमा कक्षा ७ का विद्यार्थीका लागि एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
नागरिकता प्रभावित व्यक्तिहरूको सञ्जाल (सीएपीएन) को आयोजनामा भएको कार्यक्रममा कक्षा ७ का ७५ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीलाई जन्मदर्ताको महत्व र प्रक्रिया, नागरिकताको आवश्यकता तथा प्रक्रिया, कानुनी पहिचान, नागरिक अधिकार र जिम्मेवारीलगायतका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रमलाई विद्यार्थीमैत्री बनाउन विभिन्न खेल, प्रश्नोत्तर, अन्तरक्रिया तथा सहभागितामूलक गतिविधि सञ्चालन गरिएको थियो। खेल्दै, प्रश्न गर्दै र छलफल गर्दै सिक्ने वातावरण बनेपछि विद्यार्थीले विषयवस्तुलाई सहज र रुचिपूर्वक ग्रहण गरेका थिए।
कार्यक्रमले विद्यार्थीलाई आफू र आफ्नो परिवारसँग प्रत्यक्ष जोडिएका नागरिक तथा कानुनी विषयबारे प्रारम्भिक ज्ञान दिनुका साथै आफूले सिकेको कुरा अरूसँग बाँड्ने, आवश्यक परेको अवस्थामा सहयोग गर्ने र समाजप्रति जिम्मेवार बन्ने सोच विकास गर्नसमेत प्रेरित गरेको आयोजकले जनाएको छ।
नागरिकता प्रभावित व्यक्तिहरूको सञ्जालले नागरिकता तथा कानुनी पहिचानका विषयमा जनचेतना अभिवृद्धि, अधिकारका लागि पैरवी, कानुनी तथा नीतिगत विषयमा सचेतना र सरोकारवालासँग सहकार्य गर्दै आएको छ। विशेषगरी नागरिकताको अधिकारबाट प्रभावित समुदायलाई जानकारी तथा सहयोग पुर्याउने र नागरिकतासम्बन्धी समस्या तथा विभेदका विषयमा आवाज उठाउने काममा संस्थाले भूमिका खेल्दै आएको छ।
विद्यालयका प्रधानाध्यापक अर्जुन नाथले विद्यार्थीले कार्यक्रममा प्राप्त गरेको ज्ञान आफूमा मात्र सीमित नराखी परिवार, साथीभाइ र समुदायसम्म पुर्याउनुपर्ने बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई सचेत र जानकार बनाउनुका साथै आफूले जानेका कुरा अरूलाई सिकाउने, सहयोग गर्ने र सकारात्मक सोचका साथ अघि बढ्ने भावना विकास गर्न सहयोग गर्ने उनको भनाइ थियो।
उनले विद्यालयमा पाठ्यपुस्तकको ज्ञानसँगै जीवनमा आवश्यक पर्ने व्यवहारिक विषयको जानकारी पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।