सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बृहत् वृक्षारोपण

२०८३ भदौ २७, ०२:४४ लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विश्वविद्यालय परिसरलाई स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले शनिबार वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

चिकित्सा शिक्षा अध्ययन भएपछि  विश्वविद्यालय परिसरमा आउने विद्यार्थी, बिरामी तथा सर्वसाधारणलाई स्वच्छ वातावरण र शीतलता प्रदान गर्ने उद्देश्यले विभिन्न प्रजातिका वनस्पति तथा फूलका बिरुवा रोपिएको आयोजकले जनाएको छ।

वृक्षारोपण अभियानमा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीसँगै सशस्त्र प्रहरी बल, विद्यार्थी, स्थानीयवासी, सामाजिक अभियन्ता तथा विभिन्न क्लब र संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

रोटरी क्लब अफ धनगढीको आयोजनामा रोट्रयाक्ट क्लब अफ धनगढी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एनअन्तर्गत एरिया नम्बर ५ लगायतका संस्थाको सहकार्यमा विश्वविद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।

अभियानअन्तर्गत विश्वविद्यालय परिसर वरिपरि विभिन्न प्रजातिका ५ सय ११ वटा वनस्पति तथा फूलका बिरुवा रोपिएका छन्। पहिलो दिनको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सुदूरपश्चिम प्रदेश सहमहामन्त्री जसु भट्टले खुसी व्यक्त गरिन्।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि बिरुवा रोपेर मात्रै नहुने भन्दै रोपिएका बिरुवाको नियमित संरक्षण र हुर्काउने जिम्मेवारीमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए। विश्वविद्यालय परिसरलाई हराभरा र वातावरणमैत्री बनाउन वृक्षारोपण अभियान महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीले वृक्षारोपण वातावरण संरक्षणसँगै हरियाली प्रवर्द्धन र स्वच्छ तथा स्वस्थ समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताए। विश्वविद्यालय परिसरलाई हरियालीयुक्त र अध्ययनका लागि अनुकूल वातावरण बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

विश्वविद्यालयले वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। प्रदेशवासीको सहभागिता र सहयोगमा विश्वविद्यालय परिसरमा थप बिरुवा रोप्दै जाने विश्वविद्यालयको योजना छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस