एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट
काठमाडौँ: नेपालले एसीसी मेन्स प्रिमियर कप–२०२६ को उपाधि जितेको छ। मलेसियाको बायुमास ओभलमा शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि समेत छनोट भएको छ।
नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६८ रनमा समेटियो।
युएईका लागि राहुल चोपराले १ सय ५ बलमा १ सय रनको शतकीय इनिङ्स खेले। त्यस्तै, ओपनर तनिश सुरीले ४२, कप्तान हरप्रित भटियाले ३३ तथा शोहाइब खानले ५२ रन बनाए। खुजाइमा बिन तनविरले १५ रनको योगदान दिए।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। ललित नारायण राजवंशीले २ विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले समान १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रनको बलियो योगफल तयार गरेको थियो।
नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले १ सय ६ बलको सामना गर्दै ८ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए।
गुल्सन झाले आक्रामक अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। त्यस्तै, कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका प्रहार गर्दै ४० रनको योगदान दिए।
नेपालका ओपनर अर्जुन कुमाल र आसिफ शेखले पहिलो विकेटका लागि ९७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। कुमाल ६३ बलमा ६ चौकासहित ४३ रन बनाएर रनआउट भए।
बलियो ब्याटिङपछि उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालले युएईलाई २ सय ६८ रनमै रोक्दै ४४ रनको जित निकाल्यो। यो जितसँगै नेपालले प्रिमियर कपको उपाधि आफ्नो नाममा लेखाउँदै एसिया कपमा समेत स्थान पक्का गरेको छ।