सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढीपीडित कञ्चनपुरका चार परिवारलाई राना युथ क्लबको राहत सहयोग

२०८३ भदौ २८, ०८:५६ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित राना युथ क्लबले रसुवा बाढीबाट प्रभावित कञ्चनपुरका चार परिवारलाई राहत सहयोग गरेको छ। विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले क्लबले खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्रीसहित नगद सहयोग गरेको हो।

क्लबले कञ्चनपुरका चार बाढीपीडित परिवारलाई प्रतिपरिवार ५ हजार रुपैयाँका दरले नगद सहयोग गरेको जनाएको छ। चार परिवारका लागि मात्रै २० हजार रुपैयाँ नगद सहयोग गरिएको हो। नगदसँगै प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राखेर खाद्यान्नलगायतका राहत सामग्रीसमेत उपलब्ध गराइएको क्लबले जनाएको छ।

राहत सहयोग कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का एक परिवार र कृष्णपुर नगरपालिका–३ का तीन परिवारलाई प्रदान गरिएको हो। बाढीबाट प्रभावित भई समस्या झेलिरहेका परिवारलाई विपद्को समयमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको राना युथ क्लबले जनाएको छ।

राहत वितरणका लागि प्रभावित परिवारको पहिचान तथा स्थानीयस्तरमा आवश्यक समन्वय गर्न सहयोग गरेको भन्दै क्लबले कृष्णपुर नगरपालिका–३ का वडा अध्यक्ष खेम चौधरीप्रति धन्यवाद व्यक्त गरेको छ। स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा वास्तविक रूपमा प्रभावित परिवारसम्म राहत पुर्‍याउने प्रयास गरिएको क्लबका अध्यक्ष प्रकाश रानाको भनाइ छ।

प्राकृतिक विपद्का कारण घरपरिवार तथा दैनिक जीवनमा समस्या परेका नागरिकलाई सामाजिक संघसंस्था तथा समुदायको साथ आवश्यक पर्ने भएकाले आफूहरूले राहत अभियान सञ्चालन गरेको क्लबले जनाएको छ। विपद्का बेला पीडित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक दायित्वसमेत भएकाले आफ्नो क्षमताअनुसार सहयोग गरिएको क्लबका अध्यक्ष रानाले बताए ।

राना युथ क्लबले सामाजिक तथा सामुदायिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जनाउँदै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

रसुवा बाढीबाट प्रभावित परिवारलाई गरिएको यो सहयोगले विपद्को समयमा स्थानीय स्तरमा रहेका संघसंस्था तथा युवाहरूले निर्वाह गर्न सक्ने सामाजिक भूमिकालाई समेत उजागर गरेको छ। प्रभावित परिवारलाई खाद्यान्न तथा नगद सहयोग उपलब्ध भएपछि तत्कालका केही आवश्यकतामा सहयोग पुग्ने विश्वास  गरिएको छ।

कमेन्ट लोड गर्नुस