शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ।
जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिए। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उनले बताए। हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन्।
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताए। हात्ती धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसित समन्वय गरिरहेको उनको भनाइ छ।