धनगढीमा अटोको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका थिए ।
शनिबार दिउँसो करिब ३ः५० बजे धनगढीबाट भन्सारतर्फ जाँदै गरेको से १ प ५९५९ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा से १ स ६११ नम्बरको अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
अटोको ठक्करबाट मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापाको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार करिब १८/२० वर्षीय पहिचान नखुलेका युवकको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि मायामेट्रो अस्पताल पुर्याइएकोमा चिकित्सकले दिउँसो ४ः१५ बजे मृत घोषणा गरेका हुन् ।
मृतकको शव अहिले मायामेट्रो अस्पतालमै राखिएको छ । दुर्घटनापछि अटो, अटो चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।