कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भीमदत्त नगरपालिका–५, बनखेतमा चेकजाँच गर्दा ११ ग्राम ४० मिलिग्राम लागूऔषधजस्तो देखिने धुलो पदार्थ फेला पारेको हो। प्रहरीले उक्त पदार्थसहित भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय हरिश प्रसाद जोशीलाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै, भीमदत्त नगरपालिका–३ राजीपुरबाट १.३७ ग्राम सोही प्रकृतिको पदार्थसहित २२ वर्षीय सुदिप चौधरी पक्राउ परेका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ घर भई हाल भीमदत्त नगरपालिका–३ राजीपुरमा डेरा गरी बस्दै आएका चौधरीलाई अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको टोलीले बुधबार दिउँसो चेकजाँचका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैगरी, बेदकोट नगरपालिका–६, सिसैयाबाट १५० मिलिग्राम लागूऔषधजस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी सुडाबाट खटिएको टोलीले बुधबार साँझ शंकाका आधारमा चेकजाँच गर्दा बेदकोट नगरपालिका–१० हरपाल बस्ने २३ वर्षीय मिनबहादुर ठगुन्नासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबाट बरामद पदार्थ लागूऔषध भए/नभएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।