सुदूर नेपाललाई विश्वसँग जोड्दै

अधिवेशन गर्न नमान्ने कञ्चनपुर र डोटीका कांग्रेस सभापतिकाे जिम्मेवारी खाेसियाे

२०८३ असोज २, ०२:१५ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका चारजना जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो । जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहने दुलालले जानकारी दिएका छन् । उनले भने, ‘उहाँहरू सभापति नै रहनुहुन्छ, काम गर्न नसकेकाले बाटो फुकाएका हौँ ।’

निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई दिइएको छ । त्यसैगरी, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई सुम्पिइएको छ ।

यता, जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले पार्टीको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपिल गरेका छन् । बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका हुन् ।

पार्टीको वैधानिकता, नेतृत्व र विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा साङ्गठनिक गतिविधि अघि बढाउनु उचित नहुने जिकिर उक्त विज्ञप्तिमा गरिएको छ ।

कमेन्ट लोड गर्नुस