सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै वडाका सडक जीर्ण, नदीजन्य पदार्थ उत्खनन रोक्दै धनगढी–१७ का स्थानीय आन्दोलनमा

२०८३ असोज २, ०७:०५ लक्ष्मण ढुङ्गाल

धनगढी। आफ्नै वडाबाट बालुवा र ग्राभेल उत्खनन गरेर अन्यत्र विकास निर्माणका लागि लैजाने तर वडाभित्रका जीर्ण सडक मर्मतमा बेवास्ता गरिएको भन्दै धनगढी उपमहानगरपालिका–१७ का स्थानीय आन्दोलनमा उत्रिएका छन्।

धनगढी–१७ स्थित खुटिया नदीबाट उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै आएको छ। तर उत्खननबाट प्राप्त स्रोतको उपयोग भइरहँदा त्यसको प्रत्यक्ष लाभ स्थानीयले नपाएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्।

शुक्रबारदेखि स्थानीयले पत्थरीस्थित खुटिया पुलमा विरोध प्रदर्शन गर्दै नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसारमा रोक लगाएका छन्। वडा क्षेत्रका चारवटै सामुदायिक वनका अध्यक्षहरूको अगुवाइमा सुरु भएको विरोध प्रदर्शन माग सम्बोधन नभएसम्म जारी राख्ने स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार खुटिया नदीबाट बालुवा तथा ग्राभेल ढुवानी गर्ने ट्र्याक्टर र टिप्परका कारण वडाभित्रका सडकमा खाल्डाखुल्डी पर्ने तथा सडक थप जीर्ण बन्दै गएको छ। तर उपमहानगरपालिकाले सडक मर्मत तथा आवश्यक ठाउँमा ग्राभेल हाल्ने काममा चासो नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।

स्थानीयले गत वर्ष उपमहानगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएको आरोपसमेत लगाएका छन्। खुटिया नदीमा हरेक वर्ष तटबन्ध निर्माण गर्ने सहमति भए पनि हालसम्म त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।

उनीहरूले नदीजन्य पदार्थ उत्खननबाट उपमहानगरपालिकाले प्राप्त गर्ने आम्दानीको केही हिस्सा स्थानीय सडक तथा पूर्वाधार विकास र नदी नियन्त्रणमा समेत लगानी गर्नुपर्ने माग गरेका छन्।

स्थानीयले ‘वडाबाट स्रोत लैजाने तर वडाकै सडक र नदी नियन्त्रणमा बेवास्ता गर्ने’ प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। माग सम्बोधन नभएसम्म नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार गर्न नदिने उनीहरूको चेतावनी छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस