बर्दियामा गुडिरहेको ईभी हाइसमा आगलागी, कागजात र ४२ हजार नगद जलेर नष्ट
धनगढी: बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ ।
कोहलपुरबाट कैलालीको धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो।
जिल्लाको बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा गुडिरहेको अवस्थामा हाइसमा एक्कासि आगो लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी)
रेशम बोहराले जानकारी दिए।
प्रहरीका अनुसार आगलागी हुँदा हाइसमा चालक र सहचालक मात्रै थिए। कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३८ वर्षीय नरेन्द्र नेगीले हाइस चलाइरहेका थिए। यात्रु नरहेका कारण मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
आगलागीबाट हाइसमा रहेका सवारीसाधनका कागजात तथा नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी बोहराले बताए।
आगलागीका कारण महेन्द्र राजमार्गको सवारी आवागमनमा भने कुनै अवरोध नपुगेको प्रहरीले जनाएको छ।
हाल राजमार्गमा सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ।
आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।