भारी वर्षाको सम्भावनामा सतर्क हुन कैलालीमा विभिन्न निकायबिच छलफल
धनगढी : असाेज ९ गतेदेखि कैलालीमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय कैलालीमा विभिन्न सरोकारवाला निकायबीच भएको छलफलमा जिल्लाका विभिन्न क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै पूर्वतयारीलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
कैलालीमा मुख्यगरी कर्णाली र मोहना नदी तथा तिनका शाखा नदी र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा समयमै सूचना प्रवाह र जनचेतना अभिवृद्धि गर्न प्रशासनले जोड दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायले समयमै नागरिकलाई सचेत गराउनुपर्ने बताए । जोखिम क्षेत्रमा रहेका नागरिकलाई सही र विश्वसनीय सूचना समयमै पुयाउनुपर्नेमा उनले आग्रह गरे ।
उच्च जोखिमको सम्भावनालाई ध्यानमा राख्दै बाढी प्रभावित हुनसक्ने क्षेत्रमा आवश्यक जनशक्ति, उद्धार सामग्री तथा अन्य पूर्वतयारीको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
पछिल्लो समय रसुवालगायतका क्षेत्रमा आएको बाढीबाट भएको क्षतिका कारण सर्वसाधारणमा त्रास बढेको उल्लेख गर्दै प्रजिअ रेग्मीले कैलालीमा पनि सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।
उनले जोखिमयुक्त क्षेत्रको पहिचान गरी कुनै समस्या देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन समेत नागरिकलाई आग्रह गरेका छन् ।
स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय गरी सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणमा ध्यान दिनुपर्ने प्रशासनको भनाइ छ ।