सुदूरपश्चिममा बजेटबारे नेकपा संसदीय दलको छलफल, मुख्यमन्त्री भट्टले दिए ढिलाइको कारण
धनगढी: सुदूरपश्चिम प्रदेशमा सत्ता समालिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेटका विषयमा छलफल थालेको छ ।
नेकपाको संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टले आफ्नो दलको बैठक बोलाएर बजेटका विषयमा छलफल गरेका हुन्। बैठकमा भदौभित्रै बजेट ल्याउन नसकिएको विषयमा नेकपाभित्र छलफल भएको थियो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार मुख्यमन्त्रीले बजेट ल्याउन ढिलाइ हुनुका कारणबारे दलको बैठकमा ब्रिफिङ गर्नुभएको थियो । यसै गरी सरकारले हासिल गरेको हालसम्मको कार्यप्रगति र गतिविधिका बारेमा संसदीय दलको बैठकमा छलफल गरिएको थियो ।
बैठकमा मुख्यमन्त्री भट्टले मुख्यसचिव र प्रदेश सचिवको सरुवालगायत विविध कारणले भदौमा बजेट ल्याउन नसकिएको जानकारी गराएकाे मन्त्री रावलले बताए। यसै गरी न्यूनतम साझा कार्यक्रम बनाउन समय लागेका, नीति तथा योजना आयोग गठनमा ढिलाइ भएको, केन्द्रले बजेट बनाउन सल्लाहकार पठाएको जस्ता कारणले भदौमा बजेट ल्याउन नसकिएको बैठकमा जानकारी गराइएको थियो ।
चालु आर्थिक वर्षका लागि तत्कालीन सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पास हुन नसकेपछि दुई महिनादेखि यो प्रदेश बजेटविहीन छ । बजेट असफलताकै जगमा बनेको नेकपा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको नयाँ सरकारले भदौभित्रै बजेट ल्याउने जमर्को गरेको थियो तर सरकारले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।
बैठकमा मुख्यमन्त्रीले साना तथा टुक्रे योजना हटाएर मापदण्ड अनुसारका योजना छनोट गर्ने सवालमा ब्रिफिङ गर्नुभएको मन्त्री रावलले जानकारी दिए। केही दिनअगाडि मात्रै बसेको (नेकपा) एमालेको संसदीय दलको बैठकले साना तथा टुक्रे आयोजनामा बजेट विनियोजन नगर्ने नीति अवलम्बन गर्न आफ्ना पार्टीका मन्त्रीलाई निर्देशन दिएको थियो ।
बैठकमा नेकपाभित्रै देखिएको असन्तुष्टिका विषयमा पनि छलफल गरिएको थियो । केही दिनअगाडि मात्रै नेकपाका सात/आठ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीसमेत रहेका भट्टलाई दलको नेताबाट हटाउनका लागि हस्ताक्षर सङ्कलन गरेका विषय बाहिर आएको थियो । उनीहरूले १७ बुँदे मागसमेत राखेका थिए ।