कैलालीमा कुकुरको मासु बेच्ने एक जना पक्राउ
धनगढीः कैलालीमा कुकुरको मासु भन्दै बिक्री–वितरण गरेको आरोपमा एक जना ६५ वर्षीय व्यक्ति पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–२ का सुरेश नेपालीलाई खानाका लागि बिक्री गर्न काटेर राखिएको मासु कुकुरको भएको सूचना आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुकुरको मासु बिक्री–वितरण भइरहेको सूचना पाएपछि प्रहरी टोलीले नेपालीलाई नियन्त्रणमा लिएको थियो।
यद्यपि, बरामद गरिएको मासु कुकुरकै हो वा अन्य कुनै जनावरको भन्ने कुरा भने पुष्टि भइसकेको छैन। प्रहरीले मासुको नमुना प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरेको छ। प्रयोगशाला परीक्षणपछि मात्रै मासुको वास्तविक स्रोत खुल्ने प्रहरीले जनाएको छ।
पक्राउ परेका नेपालीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।