भारी वर्षा र बाढीको जोखिम बढेपछि बेलौरीमा २४ घण्टा आपतकालीन केन्द्र सञ्चालन
कञ्चनपुर: भारी वर्षा, बाढी तथा डुबानको सम्भावनालाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिकाले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ घण्टा सञ्चालनमा ल्याएको छ।
जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा भारी वर्षा हुनसक्ने तथा बाढी र जलमग्नताको जोखिम रहेको पूर्वानुमान जारी गरेपछि सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि चौबीसै घण्टा सञ्चालनमा राखिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार बाढी, डुबान वा अन्य कुनै आपतकालीन अवस्था सिर्जना भएमा तत्काल सूचना दिन, आवश्यक सहयोग लिन तथा सम्बन्धित निकायसँग समन्वय गर्नमा सम्पर्क गर्न सकिनेछ।
नगरपालिकाले नदी तथा खोलाको किनार, डुबानको जोखिम रहेका क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानमा नजान नगरवासीलाई आग्रह गरेको छ। साथै, सम्बन्धित निकायबाट जारी हुने पूर्वसूचना तथा निर्देशनको पालना गर्नसमेत अनुरोध गरिएको छ।
आपतकालीन सम्पर्क नम्बर: ९८०१३८५६७४, ९८४८७५४००८, ९८०१७१४५४६ नगरपालिका कार्यालय: ९८५८७२७१११