पास्नी भोजमा विवाद, कुटपिटबाट मृत्यु: घटना लुकाउन शव भीरमा फालियो
धनगढीः कैलालीको चुरे गाउँपालिका–१ निगालीमा पास्नी भोजमा भएको विवादले ज्यान जानेसम्मको घटना निम्त्याएको खुलेको छ। करिब एक साताअघि भोजमा विवाद भएपछि कुटपिटबाट ५२ वर्षीय यज्ञबहादुर बोहराको मृत्यु भएको थिायो । सो घटना लुकाउन शवलाई भीरमा लगेर फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार असोज ५ गते नातेदार धनबहादुर बोहराको नातीको पास्नीमा सहभागी हुन पुगेका यज्ञबहादुर त्यसपछि सम्पर्कविहीन भएका थिए। खोजी गर्ने क्रममा उनको शव तुलिखेत जंगलको भीरमा फेला परेको थियो।
घटनाको अनुसन्धान अघि बढाउँदै प्रहरीले पास्नीमा यज्ञबहादुरसँगै मदिरा सेवन गरेका आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पास्नी भएको घरका मूली धनबहादुर बोहरासहित मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा छन्।
मृतकका छोराले दिएको जाहेरीका आधारमा पक्राउ परेका आठै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले बताए।
मदिरा सेवनपछि विवाद, कुटपिटमा ढले यज्ञबहादुर
प्रहरी स्रोतका अनुसार पास्नी भोजमा मदिरा सेवन गर्ने क्रममा यज्ञबहादुर र मानबहादुरबीच विवाद भएको थियो।
अघिल्लो दिन यज्ञबहादुरले श्रीमतीलाई गाली गरेको विषयलाई लिएर सुरु भएको विवाद भोजमा पुनः बल्झिएको र त्यसपछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कुटपिटका क्रममा यज्ञबहादुर भुईँमा ढलेर अचेत अवस्थामा पुगेका थिए।
घटनासँग सम्बन्धित एउटा भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा एक व्यक्तिले ‘मरेपछि म जेल जाने हुँ’ भनेको र अर्का व्यक्तिले ‘तपाईंले गलत गर्नुभयो’ भनेको सुनिन्छ। प्रहरीले भिडियोसहित घटनासँग सम्बन्धित अन्य प्रमाणसमेत अनुसन्धानको दायरामा राखेको जनाएको छ।
भीरबाट खसेको देखाउन शव फालियो
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यज्ञबहादुरको कुटपिटकै क्रममा सोही राति मृत्यु भएको देखिएको छ। तर घटना सार्वजनिक हुने र आफूहरू कानुनी फन्दामा पर्ने डरले शवलाई भीरतर्फ लगेर फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये केहीले प्रहरीसमक्ष घटनास्थलमै यज्ञबहादुरको मृत्यु भएको र फस्ने डरले शव भीरमा लगेर फालेको बयान दिएको प्रहरी स्रोतको भनाइ छ।
प्रारम्भमा दुई जनाबीचको विवाद र कुटपिटबाट घटना सुरु भएको देखिए पनि शव भीरमा फाल्ने कार्यमा अन्य व्यक्तिको संलग्नता थियो कि थिएन, घटना लुकाउने योजना कसरी बन्यो र घटनाको वास्तविक कारण के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डीएसपी महराले घटना अनुसन्धानकै क्रममा रहेकाले विस्तृत विवरणबारे अहिले प्रतिक्रिया दिन नमिल्ने बताए। उनका अनुसार घटनालाई विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।