कैलाली–कञ्चनपुरबाट साढे तीन लाख बराबरका अबैध सामान बरामद
धनगढी: कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ३ लाख ५७ हजार ४ सय रुपैयाँ बराबरका भन्सार छलीका सामान तथा बाख्रा बरामद गरेको छ।
कैलालीका विभिन्न स्थानबाट मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका सुर्ती, खेलौना, सुटपिस, कट्टु, पटका लगायतका सामान बरामद गरेको हो। बरामद सामानको अन्दाजी मूल्य १ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीबाट २५ हजार ५ सय रुपैयाँ बराबरका किराना लगायतका सामान बरामद गरिएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मंगलबार बेलुकी बेवारिसे अवस्थामा ती सामान फेला पारेको हो।
यसैगरी, भीमदत्त नगरपालिका–११ भुजेलाबाट भारततर्फ भन्सार छली गरी लैजाँदै गरेका १ लाख ६० हजार रुपैयाँ बराबरका बाख्रा पनि प्रहरीले बरामद गरेको छ। मंगलबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा बाख्रा फेला पारेको हो।
बरामद सामान तथा बाख्रामध्ये बाख्रालाई आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।