संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्कनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उनि आज बिहान स्वदेश फर्कनुभएको हो । उनि महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका दौरान मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफलसमेत गर्नुभएको थियो ।
सक्रिय सहभागिता, भेटवार्ता र छलफलले उनको भ्रमण अन्तरराष्ट्रिय मञ्चमा मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि गर्न निकै फलदायी भएको बताए ।