कैलालीमा लागूऔषधसहित चार जना पक्राउ
कैलाली: कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा प्रहरीले ब्राउन सुगर तथा खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।
भजनी नगरपालिका–५ कुटीबाट प्रहरीले ११० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित स्थानीय २२ वर्षीय अमित चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनीहरूलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।
त्यसैगरी, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट प्रहरीले ५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय अभिषेक रानालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।
यस्तै, सोही स्थानबाट प्रहरीले ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित ३१ वर्षीय गणेशबहादुर पाललाई पनि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधबार राति शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।