सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खोला किनारमा भेटियो महिलाको शव, एक जना बेपत्ता

२०८३ असोज १७, ०२:१३ खबर संवाददाता

धनगढीः डोटीमा धान चुट्न घरबाट हिँडेकी एक महिलाको शव खोला किनारमा फेला परेको छ।

आदर्श गाउँपालिका–५ तलारा बस्ने करिब ३१ वर्षीया लक्ष्मी ओझाको शव सायल खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार लक्ष्मी ओझा र सोही ठाउँका करिब ४५ वर्षीय शेरबहादुर बोहरा धान चुट्नका लागि सोमैजी माडुतर्फ गएका थिए। तर, उनीहरू तोकिएको स्थानमा नपुगेपछि आफन्त र छिमेकीले खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा शुक्रबार बिहान लक्ष्मीको शव सायल खोला किनारमा फेला परेको हो। घटनाबारे वडा अध्यक्ष उत्तमबहादुर सिंहले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो।

लक्ष्मीका साथमा गएका शेरबहादुर बोहराको भने अझै खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक वासुदेव अवस्थीको कमाण्डमा पनि घटनास्थलमा टोली खटाइएको छ। महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस