दशरथचन्द विश्वविद्यालयले कर्मचारी छनोट गर्दा किन लिँदैन लिखित परीक्षा ?
धनगढीः कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा धमाधम कर्मचारी भर्ना गर्दै आएको छ। तर, कर्मचारी छनोटको विधि भने पटकपटक विवादमा तानिएको छ।
विश्वविद्यालयले स्वास्थ्य सेवाका विभिन्न पदमा कर्मचारी छनोटका लागि लिखित परीक्षा नै नलिई अन्तर्वार्तामार्फत मात्रै प्रक्रिया अघि बढाउँदै आएको छ। पछिल्लोपटक विश्वविद्यालयले १५१ कर्मचारीका लागि दरखास्त आह्वान गर्दा एक हजार ६६९ जनाले आवेदन दिएका थिए। तर, आवेदन दिएकामध्ये एक हजार १२५ जनालाई संक्षिप्त सूचीमै नसमेटी छनोट प्रक्रियाबाट बाहिर राखिएको छ। असोज १६ गते सार्वजनिक गरिएको संक्षिप्त सूचीमा ५४४ जनाको नाम मात्रै समावेश गरिएको छ।
दरखास्त आह्वान गर्दा विश्वविद्यालयले छनोटको विधि अन्तर्वार्ता हुने उल्लेख गरेको थियो। तर, शुल्क तिरेर आवेदन दिएका अधिकांश उम्मेदवारलाई सर्टलिस्टकै आधारमा प्रक्रियाबाट बाहिर राखिएपछि छनोटको मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको हो।
आवेदकहरूले सर्टलिस्ट तयार गर्दा अनुभवलाई आधार बनाउने नाममा योग्य उम्मेदवारसमेत पाखा लगाइएको आरोप लगाएका छन्। सर्टलिस्टमा परेका केही उम्मेदवारका शैक्षिक प्रमाणपत्र तथा कार्यअनुभवका कागजातमाथिसमेत प्रश्न उठाइएको छ। कतिपयले एउटै अवधिमा फरकफरक संस्थामा काम गरेको देखिने अनुभवपत्र बुझाएको दाबीसमेत गरिएको छ। एक आवेदकले विश्वविद्यालयसभामा रहेका पदाधिकारीका आफन्तसमेत सर्टलिस्टमा परेको दाबी गर्दै छनोटमा पहुँचको प्रभाव परेको आरोप लगाए।
यता विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दले भने तत्काल कर्मचारी आवश्यक भएकाले लिखित परीक्षा लिन नसकिएको बताएका छन्। उनका अनुसार शिक्षण अस्पतालमा बिरामीको चाप बढिरहेका कारण छिटो कर्मचारी छनोट गर्नुपर्ने अवस्था रहेकाले आवेदन दिएका उम्मेदवारमध्येबाट सर्टलिस्ट गरी अन्तर्वार्ताबाट छनोट गर्न लागिएको हो। लिखित परीक्षा लिँदा थप दुई–तीन महिना समय लाग्ने भएकाले उक्त विधि नअपनाइएको उनको भनाइ छ।
रजिस्ट्रार चन्दका अनुसार सर्टलिस्ट तयार गर्दा अनुभव, योग्यताबापतको अंक, उपल्लो योग्यता र तालिमलाई आधार बनाइएको छ। तर, विश्वविद्यालयले दरखास्त आह्वान गर्दा सातौँ तहका पदमा कम्तीमा तीन वर्षको कार्यअनुभव आवश्यक हुने उल्लेख गरेको थियो। अन्य पदमा अनुभवको मापदण्ड राखिएको थिएन। तर, सर्टलिस्ट तयार गर्दा भने अनुभवको मापदण्ड बनाइएको भन्दै विरोध हुन थालेको छ।