धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
धनगढीः चाडपर्व नजिकिएसँगै काठमाडौं–धनगढी–काठमाडौंको हवाइ भाडा चर्किएको छ। सामान्य अवस्थामै महँगो हवाइ भाडा तिर्न बाध्य सुदूरपश्चिमका नागरिकलाई चाडपर्वको समयमा थप आर्थिक भार परेको छ।
अहिले काठमाडौं–धनगढीको हवाइ टिकटको मूल्य २२ हजार रुपैयाँसम्म छ। नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–धनगढीको अधिकतम भाडा २१ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ। तर, एयरलाइन्स कम्पनीहरूले भने २२ हजार १८० रुपैयाँसम्म भाडा तोकेका छन्।
सामान्य अवस्थामा काठमाडौं–धनगढीको हवाइ भाडा १० हजार आठ सय रुपैयाँ थियो। तर, उक्त दरमा अहिले टिकट उपलब्ध नभएको एयरलाइन्स कम्पनीहरूले बताएका छन्। धनगढीस्थित एयरलाइन्स कम्पनीका एक अधिकारीका अनुसार सोमबारसम्म १० हजार आठ सय रुपैयाँको दरमा केही टिकट उपलब्ध भए पनि मंगलबारदेखि न्यूनतम भाडा नै १५–१६ हजार रुपैयाँ पुग्नेछ।
उनका अनुसार प्राधिकरणले निर्धारण गरेको अधिकतम भाडा लिन पाउने अधिकार विमान कम्पनीहरूलाई छ। सामान्य अवस्थामा भने अधिकतम भाडाको करिब ५० प्रतिशत हाराहारीमा टिकट बिक्री हुने गरेको थियो। चाडपर्वका बेला यात्रुको चाप एकतर्फी हुने भएकाले भाडा बढ्ने गरेको विमान कम्पनीहरूको तर्क छ। काठमाडौं–धनगढीमा चाडपर्वका बेला काठमाडौं हुँदै धनगढी आउने यात्रु अत्यधिक हुने तर धनगढीबाट काठमाडौं फर्कने यात्रु तुलनात्मक रूपमा कम हुने भएकाले भाडा समायोजन गर्नुपरेको उनीहरूको भनाइ छ। धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले प्राधिकरणले निर्धारण गरेको अधिकतम भाडाभन्दा बढी रकम लिन नपाइने बताएका छन्।
सदनमा उठ्छ, सम्बोधन हुँदैन
सामान्य अवस्थामै धनगढीको हवाइ भाडा देशकै महँगोमध्ये पर्ने गरेको छ। काठमाडौं–धनगढीको भाडा भारतको राजधानी दिल्लीसम्मको हवाइ यात्राभन्दा महँगो हुने विषय पटकपटक प्रतिनिधिसभामा समेत उठ्ने गरेको छ। तर, समस्या समाधान हुन सकेको छैन।
अघिल्लो साता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले पनि काठमाडौं–धनगढीको हवाइ भाडा घटाउन माग गरेकी थिइन्। प्रतिनिधिसभाको बैठकमा उनले भारतको राजधानी दिल्ली पुग्न सस्तो तर आफ्नै देशको सुदूरपश्चिम पुग्न महँगो हवाइ भाडा तिर्नुपर्ने अवस्थाप्रति प्रश्न उठाएकी थिइन्।
उनले एयरलाइन्स कम्पनीहरूलाई पनि नागरिकमाथि महँगो हवाइ भाडाको भार नथोपर्न आग्रह गरेकी थिइन्। चाडपर्वका बेला भाडा बढ्ने र बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा झनै महँगो हुने अवस्थालाई उनले नागरिकको बाध्यताको मूल्यका रूपमा व्याख्या गरेकी थिइन्।