सुदूर नेपाललाई विश्वसँग जोड्दै

राज्यमन्त्री  गिरीले दुर्गौलीको ऐतिहासिक व्यापारिक मेला उद्घाटन गर्ने

२०८३ असोज १९, ०४:२१ खबर संवाददाता

कैलाली : कैलालीको दुर्गौली बजारमा पहिलोपटक आयोजना हुन लागेको दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला–२०८३ को उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरीले गर्ने भएकी छन्।

‘कला, संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार’ भन्ने नारासहित असोज २१ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला–संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुनेछन्। मेलामा पुग्ने दर्शकले विभिन्न परिकारको स्वाद लिनुका साथै व्यापारिक तथा सांस्कृतिक प्रदर्शनी अवलोकन गर्दै परिवार तथा साथीभाइसँग मनोरञ्जन लिन सक्नेछन्।

साँझको समयमा विशेष सांगीतिक कार्यक्रमसहित कलाकारहरूको प्रस्तुति रहने भएकाले मेला अवधिभर दुर्गौली बजारमा मनोरञ्जनको विशेष माहोल बन्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादन, व्यवसाय र संस्कृतिलाई प्रवद्र्धन गर्दै दुर्गौली बजारलाई थप चिनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

मेलालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाइएको छ। आयोजकले मेला अवधिभर सहभागी भई स्थानीय कला, संस्कृति, व्यापार र मनोरञ्जनको उत्सवमा जोडिन सबैलाई आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस