सेती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु
धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा केही दिनदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा सोमबारदेखि पुनः सुचारु भएको छ।
सिटी स्क्यान मेसिनमा प्राविधिक समस्या देखिएपछि अस्पतालको सेवा केही दिनदेखि ठप्प थियो। मेसिनमा देखिएको समस्या सम्बन्धित कम्पनीका इन्जिनियरले मर्मतसम्भार गरेपछि सेवा नियमित रूपमा सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ।
सिटी स्क्यान सेवा अवरुद्ध हुँदा उपचारका लागि आएका बिरामी तथा उनीहरूका परिवारले समस्या झेल्नुपरेको थियो। कतिपय बिरामीले निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर सिटी स्क्यान गराउनुपर्ने अवस्था समेत आएको थियो।
अस्पताल प्रशासन शाखाले सूचना जारी गर्दै सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको जानकारी गराएको छ। अस्पतालले सेवा आवश्यक पर्ने बिरामीलाई अब अस्पतालबाटै सिटी स्क्यान सेवा लिन सकिने जनाएको छ।