माता अमृतानन्दमयीद्वारा नेपालका बाढी पीडितलाई ३ करोड २० लाख सहयोग
धनगढी: भारतकी आध्यात्मिक तथा सामाजिक अभियन्ता माता अमृतानन्दमयी देवीले नेपालका बाढी तथा पहिरोपीडितका लागि ३ करोड २० लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन्।
आफ्नो ७३औँ जन्मदिन तथा विश्व सेवा दिवसको अवसरमा उनले प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकको राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि २ करोड भारतीय रुपैयाँ सहयोग गरेकी हुन्। उक्त रकम नेपाली रुपैयाँमा करिब ३ करोड २० लाख बराबर हुने जनाइएको छ।
सहयोग रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत नेपाललाई हस्तान्तरण गरिएको हो। उक्त रकम राजदूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापामार्फत हस्तान्तरण गरिएको जनाइएको छ।
प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका बेला प्राप्त सहयोगले पीडित परिवारको तत्कालीन राहत तथा पुनःस्थापनाका काममा योगदान पुग्ने अपेक्षा गरिएको छ। माता अमृतानन्दमयीले आफ्नो जन्मदिनलाई सेवा र मानवीय सहयोगसँग जोड्दै विपद्मा परेका नागरिकका लागि सहयोग उपलब्ध गराएकी हुन्।
माता अमृतानन्दमयी देवीको प्रेरणामा भारतमा अमृता अस्पताल सञ्चालन हुँदै आएको छ। अस्पतालले नेपालसहित विभिन्न देशबाट उपचारका लागि आउने बिरामीलाई लक्षित गरी अन्तर्राष्ट्रिय बिरामी सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
अमृता अस्पतालका सिनियर म्यानेजर तथा इन्टरनेसनल सेल्स एन्ड मार्केटिङ विभागका अभिषेक स्वाँरले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग उपलब्ध गराइएको बताए।
उनका अनुसार विपद्का समयमा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै नेपालका प्रभावित नागरिकलाई सहयोग गरिएको हो।
स्वाँरले अमृता अस्पतालले नेपाललगायत विभिन्न मुलुकबाट उपचारका लागि आउने बिरामीका लागि इन्टरनेसनल पेसेन्ट केयर विभागमार्फत विशेष व्यवस्था गर्दै आएको बताए। नेपाली बिरामीलाई उपचारका क्रममा भाषाको कठिनाइ नहोस् भन्ने उद्देश्यले दोभाषे, परामर्श तथा आवश्यक समन्वयका सेवासमेत उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।