सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट फर्किएर बुवाको व्यवसाय सम्हालेका देवेन्द्र, अहिले खसीबोकाको कारोबारमा

२०८३ असोज २९, ०७:४१ लक्ष्मण ढुङ्गाल

धनगढीः रोजगारीको खोजीमा विदेश पुगेका धनगढीका देवेन्द्र बोहरा अहिले आफ्नै ठाउँमा व्यवसाय गरेर आम्दानी गरिरहेका छन्।

बुवाले सुरु गरेको खसीबोकाको खरिद–बिक्री व्यवसायलाई विस्तार गरेका उनले अहिले बाख्रापालनसँगै स्थानीय किसानका खसीबोका संकलन गरी बजारसम्म पु¥याउने काम गरिरहेका छन्। दसैँ–तिहारमा खसीबोकाको माग बढेसँगै उनको व्यवसायमा पनि चहलपहल बढेको छ। धनगढी उपमहानगरपालिका–७, बेलीमा ‘सुदूरपश्चिमाञ्चल खसी, बोका, बाख्रा संकलन तथा खरिद–बिक्री फर्म’ सञ्चालन गर्दै आएका बोहराले स्थानीय किसानबाट खसीबोका खरिद गरी उपभोक्तासम्म पु¥याउँदै आएका छन्।

स्नातक तहसम्म अध्ययन गरेका बोहरा स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका थिए। विदेशबाट फर्किएपछि उनले बुवाले सुरु गरेको व्यवसायलाई व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाए। सुरुमा १० देखि १५ वटा खसीबोकाको खरिद–बिक्रीबाट सुरु भएको पारिवारिक व्यवसाय अहिले बाख्रापालन, संकलन र बिक्री वितरणसम्म विस्तार भएको छ।

हाल उनको फर्ममा करिब १५० वटा बाख्रा छन्। बयर, तोतापारी, सिरोही र जमुनापारीलगायत जातका बाख्रा पाल्नुका साथै खरिद–बिक्रीसमेत गर्दै आएका छन्। व्यक्तिगत ग्राहकलाई मात्र नभई सरकारी तथा गैरसरकारी संस्थाका कृषि कार्यक्रमका लागि पनि उनले बाख्रा उपलब्ध गराउँदै आएका छन्। बोहरा परिवारले कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्ला र कैलालीको चुरे क्षेत्रका किसानका घरघरमा पुगेर खसीबोका संकलन गर्छ।

किसानबाट खरिद गरिएका खसीबोका धनगढी ल्याएर बिक्री गरिन्छ। यसले ग्रामीण क्षेत्रका किसानलाई आफ्ना उत्पादनको बजार खोज्नुपर्ने झन्झट कम गरेको छ भने उपभोक्तालाई पनि खसीबोका खरिद गर्ने सहज विकल्प दिएको छ।
व्यवसायलाई व्यवस्थित बनाउन बोहराले खसीबोका ओसारपसारका लागि आफ्नै गाडी र चालकको व्यवस्था गरेका छन्। बाख्राको रेखदेखका लागि एक जना कर्मचारी राखेका उनले दसैँ–तिहारजस्ता चाडपर्वमा कारोबार बढ्दा थप तीनदेखि चार जनालाई रोजगारीसमेत दिने गरेका छन्। व्यवसाय सञ्चालनमा परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन्।

तर, खसीबोकाको कारोबारमा प्रतिस्पर्धा बढ्दै जाँदा व्यवसाय सञ्चालन गर्न चुनौती थपिएको बोहराको अनुभव छ। भारततर्फको माग र काठमाडौँलगायत ठूला सहरका व्यवसायी गाउँमै पुगेर किसानबाट खसीबोका खरिद गर्न थालेपछि स्थानीय व्यवसायीलाई प्रतिस्पर्धा गर्न कठिन भएको उनी बताउँछन्। खुला सीमाका कारण सीमापारि हुने कारोबारले पनि स्थानीय बजारमा प्रभाव पारेको उनको भनाइ छ।

यद्यपि, बोहरा आफ्नै ठाउँमा पशुपालन तथा कृषि व्यवसायको सम्भावना देख्छन्। सुदूरपश्चिमका पहाडी र चुरे क्षेत्रमा बाख्रापालनको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनी स्थानीय स्रोत र साधनको सदुपयोग गर्न सके रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्न सकिने बताउँछन्। चाडपर्वमा खसीबोकाको माग बढ्दा उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउनेदेखि ग्रामीण किसानका उत्पादनलाई बजारसँग जोड्नेसम्मको काममा बोहराको व्यवसाय सक्रिय छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस