सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी दिवसमा अमर प्रहरीको योगदानको स्मरण, प्रदेश सरकारलाई अधिकार अभावको चुनौती

२०८३ असोज ३०, ०३:२७ लक्ष्मण ढुङ्गाल

धनगढी: राष्ट्र सेवाका क्रममा आफ्नो जीवन बलिदान गरेका अमर प्रहरीको योगदान राष्ट्रले सधैँ स्मरण गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै डीआईजी भट्टराईले देशमा सुशासन कायम गर्न, नागरिकको जीउधनको रक्षा गर्न तथा शान्ति सुरक्षा सुनिश्चित गर्न प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए। कर्तव्य पालनाका

क्रममा जीवन उत्सर्ग गरेका अमर प्रहरीको योगदान समाजले कहिल्यै बिर्सन नसक्ने उनको भनाइ थियो।

उनले कर्तव्य पालनाका क्रममा घाइते भएका प्रहरी कर्मचारीप्रति शुभेच्छा व्यक्त गर्दै उनीहरूको योगदानको सम्मान गरे। अनुशासन र साहसका साथ नागरिकको जीउधनको रक्षामा उच्च मनोबलसहित खटिन उनले प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए।

सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै नागरिकलाई सहज रूपमा सुरक्षा सेवा प्रदान गर्ने आफ्नो योजना रहेको उनले बताए। नेपाल प्रहरी संगठनलाई थप सुदृढ बनाउन राज्यका सबै निकायको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेश तथा स्थानीय तहबाट उचित समन्वय भए प्रहरीको मनोबल बढ्ने र नागरिकलाई सुरक्षा सेवा प्रवाह गर्न थप सहज हुने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पनि नेपाल प्रहरीले सुशासन कायम गर्न, नागरिकको सुरक्षा गर्न तथा विभिन्न जघन्य अपराध र घटनाको अनुसन्धानमा पुर्‍याएको योगदानको प्रशंसा गरे।
मुख्यमन्त्री भट्टले गृह प्रशासनसम्बन्धी अधिकार नहुँदा प्रदेश सरकारलाई काम गर्न चुनौती भइरहेको बताए। 

संविधानले व्यवस्था गरेका प्रदेशका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त, दक्ष र प्रविधिमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम थारूले कानुनी राज्यको अनुभूति गराउने, दण्डहीनता नियन्त्रण गर्ने र सुशासन कायम गर्ने कार्यमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए।

उनले शान्ति सुरक्षा कायम राख्न तथा नागरिकलाई कानुनको प्रत्याभूति दिलाउन प्रहरी संगठनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।

७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमले राष्ट्र सेवाका क्रममा जीवन बलिदान गर्ने अमर प्रहरीको योगदानको स्मरण गर्नुका साथै कर्तव्य पालनाका क्रममा घाइते भएका प्रहरी कर्मचारीको सम्मान र प्रहरी संगठनको भूमिका तथा जिम्मेवारीमाथि समेत  दिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस