सुदूर नेपाललाई विश्वसँग जोड्दै

महँगियो दसैँ : किनमेल गर्नेको चहलपहलले व्यवसायी भने उत्साहित

२०८३ असोज ३१, ०३:२९ लक्ष्मण ढुङ्गाल

धनगढीः दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै कैलालीको धनगढी बजारमा किनमेल गर्ने ग्राहकको चहलपहल बढेको छ। चाडपर्वमा नयाँ लुगा लगाउने र परिवारका लागि आवश्यक सामग्री खरिद गर्ने परम्पराका कारण बजारमा ग्राहकको भीड बढ्न थालेको हो। दसैँका लागि किनमेल गर्न आउने उपभोक्ताको संख्या बढेसँगै धनगढीका कपडा पसलहरूमा बिहानैदेखि ग्राहकको भीड देखिन थालेको छ। गत वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या बढेको व्यवसायीहरू बताउँछन्। चाडपर्व लक्षित कारोबार बढेपछि उनीहरू उत्साहित भएका छन्। प्यापारी तुलसादेवी पौडेलका अनुसार दसैँका लागि किनमेल गर्न आउने ग्राहक बिहानैदेखि पसलमा पुग्ने गरेका छन्। चाडपर्व नजिकिएसँगै कपडा खरिद गर्नेको संख्या बढेको उनले बताइन्।

कोरोना महामारीपछि सुस्ताएको व्यवसायमा यसवर्ष चाडपर्वका बेला बजारमा देखिएको ग्राहकको भीडले उत्साह थपेको छ। व्यापारी सरोजकुमार यादवले पनि यसवर्ष चाडपर्वले व्यवसायमा सकारात्मक प्रभाव पारेको बताए। ग्राहकको चहलपहल बढेसँगै कारोबारमा सुधार आएको उनको भनाइ छ। ग्राहकको संख्या बढ्दै जाँदा मागअनुसार कपडा आपूर्ति गर्नसमेत कठिन भइरहेको व्यवसायीहरू बताउँछन्। विभिन्न डिजाइन र नयाँ शैलीका कपडाप्रति ग्राहकको आकर्षण बढेकाले माग धान्न मुस्किल भइरहेको उनीहरूको भनाइ छ।

यद्यपि, बढ्दो चहलपहलका बीच व्यवसायीले केही चुनौतीसमेत सामना गर्नुपरेको छ। पसल सञ्चालक कृष्णप्रसाद रिजालका अनुसार भन्सारमा कडाइ र कपडाको मूल्यवृद्धिले व्यवसाय सञ्चालनमा चुनौती थपेको छ। विदेशबाट आयात हुने कपडामा भन्सार शुल्क बढ्दा गतवर्षको तुलनामा मूल्य महँगिएको व्यवसायीहरूको भनाइ छ। त्यस्तै, देशका विभिन्न स्थानमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा समयमै कपडा बजारमा ल्याउन समस्या भइरहेको छ। यसले गर्दा ग्राहकको मागअनुसार सामान उपलब्ध गराउन कठिन भएको व्यवसायीहरू बताउँछन्।

चाडपर्वका बेला बजारमा ग्राहकको चहलपहल बढे पनि मूल्यवृद्धि, ढुवानीमा अवरोध र आपूर्तिको समस्याले व्यवसायीलाई चुनौती थपेको छ। यद्यपि, दसैँ, तिहार र छठलाई लक्षित किनमेल बढेसँगै धनगढीको बजारमा व्यापारिक गतिविधि थप चलायमान बनेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस