भारतमा ज्यान गुमाएका कैलालीका साउँदको परिवारलाई ५४ हजार बढी सहयोग
धनगढी: भारतको बेंगलुरुमा निधन भएका कैलालीका पदमबहादुर साउँदको परिवारलाई ५४ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
कैलालीको चुरे गाउँपालिका–२, कड्किरी जन्मथलो भएका र हाल गौरीगंगा नगरपालिका–७ मा बसोबास गर्दै आएका साउँदको गत असोज ७ गते भारतको बेंगलुरुमा निधन भएको थियो। आर्थिक अभावका कारण उनको पार्थिव शरीर नेपाल ल्याउन कठिनाइ भएपछि भारतमै अन्तिम संस्कार गरिएको थियो।
त्यसपछि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए। अभियानबाट दुई दिनमा ५४ हजार २९५ रुपैयाँ सङ्कलन भएको थियो। उक्त रकम असोज ३१ गते परिवारलाई हस्तान्तरण गरिएको हो।
सहयोग अभियानको नेतृत्व मनोज साउँद, ललित दियाकोटी, यशोदा साउँद र बिनोद साउँदले गरेका थिए। अभियानमा चुरे एकता प्रवासी समाजका पदाधिकारी, पत्रकार जगत नेपाली, देश–विदेशमा रहेका सहयोगदाता, आफन्त तथा शुभचिन्तकले सहयोग गरेका थिए।